गुजरात ९ फागुन । नेपालको पोखरा उद्योग वाणिज्य संघ र भारतको गुजरात राज्यको गुजरात उद्योग वाणिज्य संघबीच भगिनी सम्बन्ध स्थापना तथा विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको छ । गुजरात उद्योग वाणिज्य संघ,अहमदावादमा आयोजित विशेष कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा र गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष राकेश साहले भगिनी सम्बन्ध स्थापना र सहकार्यको सम्झौतापत्र(एमओइ) मा हस्तारक्ष गर्नुभएको हो ।
दुई संघबीच भएको सम्झौतापछि ब्यापार र लगानी,उद्योग,परिवहन र पर्यटन,कृषि, उर्जा,शिक्षा र पूर्वाधारका सातवटा विषयमा दुई संघबीच सहकार्यको ढोका खुलेको छ । सम्झौतापत्रमा द्धिपक्षीय ब्यापार लगानी बृद्धिका लागि सयुक्त लगानीको पहल गर्ने,साना उद्योग र सहकारीको लागि अवसरको खोजी गर्न सूचना आदान प्रदान एवं भेटघाट गर्ने, सामान आयात निर्यातमा यातायात खर्च घटाउनको लागि पहल गर्ने,भन्सारको प्रक्रिया सहज बनाउन नियमित सूचना आदान प्रदान गरिने भएको छ ।
यसैगरी सहमतिपत्रमा सहकार्यलाई बलियो बनाउन दुबै उद्योग वाणिज्य संघका एक व्यक्तिलाई श्रोतव्यक्ति तोकिने र सोही माध्यमबाट व्यवसाय र उद्योगलाई आवश्यक पर्ने सूचना आदान प्रदान, पैरवी एवं एक अर्काका उत्पादनहरुको बजारीकरणमा सघाउने विषयमा पनि दुबै पक्ष मञ्जुर भएका छन् । सहमतिलाई अझ प्रभावकारी बनाउन नियमित सेमिानार एवं वार्षिक कार्ययोजनासहित काम गर्न पनि दुबै पक्ष सहमत भएका छन् भने सहमति कार्यान्ययनको लागि एक अनुगमन समिति समेत बन्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सहमति अनुसार दुबै संघका सदस्यहरुको नियमित भेटघाट र अध्ययन अवलोकन भ्रमण पनि आयोजना गरिने छ । सम्झौता दुई वर्षको रहेको छ भने आवश्यकता अनुसार सम्झौताको अवधी बढाइने छ ।
गुजरातको अध्ययन अवलोकन भ्रमणमा आएको पोखरा उद्योग वाणिज्य संघसँगको छलफल कार्यक्रममा बोल्दै गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष राकेश साहले दुई देशबीच व्यवसाय विकासको सम्भावना प्रचुर रहेको बताउनुभयो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको पर्यटन, शिक्षा,स्वास्थ्य र उद्योगको क्षेत्रमा लगानी गर्न गर्नुभएको आग्रहलाई स्वीकार्दै उहाँले दुई देशबीच धेरै कुराहरु समान रहेकोले पनि लगानीको सम्भावना बढी भएको बताउनुभएको हो ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रति देखाउनुभएको सदायसताको प्रसंशा गर्दै गुजरातबाट नेपालले धेरै सिक्न सक्ने धारणा राख्नुभयो । उहाँले जलविद्युतको क्षेत्रमा पनि संयुक्त लगानीको लागि आग्रह गर्नुभयो । गुजरातका विख्यात उद्योगपतिहरु सहभागी कार्यक्रममा एक अर्काबीच मायाको चिनो आदानप्रदान भएको थियो भने भ्रमणदलमा रहनुभएका सबैलाई न्यानो स्वागत पनि गरिएको थियो । सधैँ व्यस्त रहने गुजरातका व्यवसायीहरु र खासगरी त्यहाँका अध्यक्ष साहले देखाउनुभएको सदासयताको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष थापाले मुक्तकण्ठले प्रसंसा गर्नुभयो । कार्यक्रममा बोल्दै गुजरात उद्योग वाणिज्य संघका वैदेशिक व्यापार संघका अध्यक्ष भाग्यश सोनीजीले खुसीसँग सम्झौता गरेर पैसा कमाउने संस्कृति दुबै देशमा नभएकोले सँगै मिलेर अगाडि बढ्न सजिलो भएको धारणा राख्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले सहकार्यको लागि खुल्ला मनले गुजरात आएको संघको टोलीलाई न्यानो स्वागत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा रहेको अध्ययन अवलोकन भ्रमण टोलीमा संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रविन्द्रबहादुर प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे,सदस्यहरु हीरा भट्टराई,नारायण कोइराला,सीता गुरुङ,विन्दु कोइराला सुवेदी, ईश्वर कर्माचार्य,बलराम आचार्य पवन प्रजापति, अर्जुन पोखरेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापा र व्यापार पत्रिकाका सम्पादक वाशुदेव मिश्र रहनुभएको छ । टोर्लीले चर्चामा रहेको विकासको गुजरात मोडलको अलावा सो क्षेत्रको उद्योगन्दा,व्यवसायीक स्थिति तथा सार्वजनिक निजी साझेदारीबाट निर्मित र संचालित विभिन्न संरचनाहरुबारे पनि जानकारी बटुलेको संघका महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । सो भेटघाट कार्यक्रममा महिला उद्यमीहरुको विशेष उपस्थिति थियो भने उहाँहरुले पोखरा उद्योग वाणिज्य संघका महिला उद्यमी उपसमितिका संयोजक विन्दु कोइराला एवं सदस्यहरु सीता गुरु ङ हीरा भट्टराईसँग सहकार्यको लागि गतिलो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
पोखराबाट फागुन ४ गते गुजराततर्फ लागेको भ्रमण दलले अध्ययन अवलोकनकै क्रममा भारतको नयाँ दिल्ली तथा उत्तरप्रदेशको नोयडा क्षेत्रमा भएको औद्योगिक विकासको अध्ययन गरेको थियो । सो क्षेत्रको भ्रमणले सहरी विकासको लागि वृहत्तर र दूरदर्शितासहीतको गुरुयोजना पहिलो सर्त भएको आफूहरुले अनुभूति गरेको संघका अध्यक्ष विन्दुकुमार थापाले बताउनुभयो । संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले सो क्षेत्रको भ्रमण पश्चात भूमिको उपयोग गर्नु पूर्व नै नियमनकारी निकायले निश्चित मापडण्ड निर्धारण गरेमा अनधिकृत निर्माणले प्रश्रय नपाउने धारणा राख्नुभयो । नोयडा क्षेत्रमा खासगरी भारतको निजी क्षेत्रले पूर्वाधार निर्माणमा अरबौँ लगानी गरेको छ । भारतको प्रसिद्ध जेपी समूले त्यहाँ स्पोटर्स सिटी नै निर्माण गर्दैछ भने उद्योग र कलकारखानाहरु पनि त्यही क्षेत्रमा खोलिएका छन् । संघका द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले गुजरात उद्योग वाणिज्य संघका सदस्यहरुले देखाएको सदायसयताले आफूहरुमा उत्साह थपेको बताउनुभयो । संघका उपमहासचिव प्रकाशदेव पालिखेले गुजरातको औद्योगिक विकास र व्यवसायीक वातावरणबाट नेपालले धेरै सिक्नुपर्ने धारणा राख्नुभयो ।
0 comments:
Post a Comment