९ फागुन, काठमाडौं । दिल्लीबाट शनिबार काठमाडौं आइपुगेका भारतीय आम आदमी पार्टीका प्रवक्ता आशुतोषले नेपालमा पनि भ्रष्टाचारीलाई तह लगाउन नयाँ शक्ति बनाउनुपर्ने बताएका छन् ।
एक दिने नेपाल भ्रमणमा आइपुगेका प्रवक्ता आशुतोषले भ्रष्टाचार अन्त्य गर्न नेपालमा पनि दिल्लीको आम आदमीजस्तै नयाँ शक्ति बनाउनुपर्ने सुझाव दिएका हुन् ।
पत्रकारिताको पृष्ठभूमिबाट आम आदमीको प्रवक्ता बनेका आशुतोषले भने- ‘राजनीतिमा भ्रष्ट व्यक्तिहरुलाई पठाउनै हुँदैन, पैसाले चुनाव जितेर जानेहरुले नीति तथा नियम बनाउनै सक्दैनन्, त्यसैले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने व्यक्तिहरुलाई मात्रै त्यो ठाउँमा पठाउनुपर्छ ।’
नेपालमा भ्रष्टाचार हुने गरेको कुरा आफुले पनि सुनेको बताउँदै उनले भने- ‘तपाईहरुले पनि भ्रष्टाचारीहरुलाई जनताबाट नंग्याउन प्रभावकारी भूमिका खेल्नुहोस्, उनीहरुलाई कहिल्यै पनि सत्तामा पुग्न दिनुहुँदैन, त्यसका लागि सञ्चार क्षेत्रले मात्रै रोक्छ सक्छ । जनतालाई पनि सुसुचित बनाउनुपर्छ ।’
भारतमा आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा जनताको मन जित्न सफल भएको उदाहरण पेश गर्दै नेपालमा पनि भ्रष्टाचारको विरुद्धमा नयाँशक्ति आवश्यक रहेको उनले बताए ।
संविधानमा धेरै छलफल गर्नुहोस्
प्रवक्ता आशुतोषले संविधानका विवादित विषयलाई टुंगो लगाउन बढी भन्दा बढी छलफल चलाउन सुझाव दिए ।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रवक्ता आशुतोषले भने- ‘कस्तो शासन प्रणाली अपनाउने ? कतिवटा प्रदेश बनाउने भन्ने विषयमा नेपालका सबै राजनीतिक पार्टीका धारणाहरुमा व्यापक छलफल गर्नु नै उत्तम हुने बताए । संविधान निर्माण गर्दा जति धेरै छलफल गर्यो, त्यति नै सहमतिको नजिक पुग्न सकिने उनले भने ।’
नेपालमा कस्तो संघीयता आवश्यक होला भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले संघीय प्रणालीबारे भारतमा पनि समान धारणा नभएको स्मरण गरे ।
उनले लोकतन्त्रको संस्थागत विकास, संघीयता, धर्मनिरपेक्षता जस्ता विषय नेपालीले नै तय गर्नुपर्ने सुझाव दिए । हिन्दू धर्मलाई आफूले मान्ने बताउँदै नेपाललाई हिन्दूराष्ट्र बनाउने या नबनाउने भन्ने कुरा नेपाली जनता र राजनीतिक दलहरुले नै तय गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा पत्रकार ऋषि धमलाले केजरीवाललाई नेपाल आउन आग्रह गर्दा प्रवक्ताले यसबारे पहल गर्ने बताए ।
0 comments:
Post a Comment