Adz

Adz
  • Latest News

    Monday, February 9, 2015

    देशलाई ‘कमाराको टाउको’ बनाउन दिन्नौं : ओली

    २६ माघ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफू जीवित रहुञ्जेल जातीय प्रदेशका नाममा देशलाई ‘गिनी पिग’ जस्तै प्रयोगशाला बनाउन नदिने बताएका छन् । उपाध्यक्ष वामदेव गौतमले हिजोका सरकारले गरेका गलत सम्झौता नमान्ने स्पष्ट पारेका छन् । ‘कपाल काट्न सिक्नु कमाराको टाउकोबाट भन्ने सामन्ती उखान नेपालमा लागु गर्न खोजिँदैछ’ सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादक एवं प्रतिनिधिसँग अनौपचारिक छलफलमा ओलीले भने ‘यहाँ हामीलाई गिनी पिग बनाएर प्रयोग गर्न खोजिँदैछ, हामी प्रयोग हुन हुँदैन’ ।
    ओलीले नेपाल अल्पसंख्यक जातिहरुको देश भएकाले यहाँ दुई-चार जातिलाई मात्रै राज्यको नाम दिन नसकिने बताए । ‘अहिले गुलियो लागे पनि यो दीर्घकालमा समाजलाई साम्प्रदायिक उत्पातमा लैजाने साइनाइड हो’ ओलीेले भने ‘हाम्रो समाजलाई ‘गिनी पिग’ जस्तो प्रयोग थलो बनाउन दिइँदैन’ । प्रदेशहरुको संख्या धेरै बनाउने कुरामा पनि एमालेले सम्झौता नगर्ने ओलीले बताए । ‘तराई पहाड अलग्याउने, जातीय प्रदेश बनाउने र धेरै प्रदेश बनाउने कुरामा सहमति हुदैन, यी हाम्रा आधारभूत मान्यताका विपरीत हुन्’ उनले पत्रकारहरुलाई भने । नाइजेरियामा शुरुमा केही जातिको नामबाट प्रदेश बनाउँदा अहिले अरु जातिले आफ्नो जातबाट राज्य माग्दै बोको हरमहरु जन्मिएको ओलीले उदाहरण दिए । रुवाण्डा र सुडानका उदाहरणसमेत जोड्दै उनले भने-‘तत्काल केही मान्छेलाई रीस उठ्ला, तर राष्ट्रको हितमा अडान लिन छाडिँदैन ।’ एमाले अध्यक्ष ओलीले संसारभर असफल भइसकेका जातीय तथा साम्प्रदायिक प्रयोगहरु नेपालमा केही विदेशीहरुले प्रयोग गर्न खोजेको आरोप लगाए । एमालेका तीन बटमलाइन नेकपा एमालेले तराई-पहाड अलग गर्ने र केही जातिको नामबाट मात्रै प्रदेश बनाउने संघीयता कुनै पनि मूल्यमा स्वीकार नगर्ने प्रष्ट पारेको छ । उसले जातीय राज्य नमान्ने, थोरै प्रदेश बनाउने र तराई-पहाड जोड्ने तीनवटा बटमलाइन अघि सारको छ । सहमतिबाट संविधान जारी गर्ने नाममा मुलुकलाई दीर्घकालीनरुपमा विखण्डन गर्ने र समाजलाई साम्प्रदायिक विद्वेषको आगोमा हाल्ने दुबै विषय अमान्य हुने एमाले नेताहरुले बताएका छन् । एमालेका शीर्षनेताहरुले तराई-पहाड अलग गर्ने र जातका आधारमा राज्य पुनसंरचना गर्ने कुरामा सहमति नहुने प्रष्ट पारे । एमाले अध्यक्ष ओलीले तराई र पहाडलाई एक ठाउँमा रहन नदिने पुरानो योजना आफूले पहिले नै बुझेकाले त्यसो हुन नदिने बताए । ‘मधेसमाथि उपनिवेश छ र हामी स्वतन्त्र बनाउछौं भन्ने भाषा जानीबुझी प्रयोग भएको छ’ एमाले अध्यक्ष ओलीले भने ‘म बाचुञ्जेल उनीहरुको उद्देश्य पूरा हुन दिन्न’ । ओलीले झापादेखि कञ्चनपुरसम्मको समथर तराई भूभागलाई पहाडसँग मिसाउन नदिने मधेसी मोर्चा र एमाओवादीको नियत ठीक नभएको भन्दै यसमा सबै नेपाली सचेत हुनुपर्ने ओलीले बताए । राज्य होइन, अधिकार ओलीले आदिवासी जनजाति, मधेसी, दलित, उपेक्षित र सीमान्तीकृतहरुलाई जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरेर अधिकार सम्पन्न बनाउनुपर्ने बताए । ‘राज्यको नाम दिँदैमा प्रतिनिधित्व सुनिश्चित हँुदैन, संविधानमा सबैका अधिकार सुनिश्चित गर्नुपर्छ’ ओलीले भने ‘काठमाडौंमा नेवा राज्य दिएर देशभर बजार स्थापित गरेका ६ प्रतिशत जनसंख्या ओगट्ने नेवारहरुको हित हुँदैन’ । ओलीले अन्तर्राष्ट्रिय समुदाय ६०/७० वर्षको लोकतान्त्रिक इतिहास बोकेका कांग्रेस एमालेले नेतृत्व गरेको सरकार र यी दलको दृष्टिकोणभन्दा विपरीत जान नसक्ने समेत दाबी गरे । ‘विदेशीहरु सरकारकै पक्षमा’ एमाले अध्यक्ष ओलीले सरकारलाई अन्तरराष्ट्रिय समुदायको पनि साथ रहेको बताएका छन् । ‘यो सरकार र यी पार्टी विरुद्ध अन्तर्राष्ट्रिय समुदाय जान सक्दैन र गएको पनि छैन’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ओलीले भने ‘भारत त झनै हाम्रो धारणाको विपरीत जानै सक्दैन’ । विभिन्न कारणले कतिपय राजदुतहरु दिग्भ्रमित हुन सक्ने भएकाले सरकारले उनीहरुसँग चरण-चरणमा छलफल र ब्रिफिङ गरेको ओलीले बताए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: देशलाई ‘कमाराको टाउको’ बनाउन दिन्नौं : ओली Rating: 5 Reviewed By: Samsung
    Scroll to Top