काठमाडौं, श्रावण ३१ । विश्वकै सर्वाधिक चर्चित लिग फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साँझ साढे ५ बजे म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीको सामना गर्दैछ । लिगमा सबैभन्दा सफल म्यानयुले यसपटक उपाधिका लागि भरमग्दूर प्रयास गर्नेछ ।
लुइस भान गालको प्रशिक्षण र वाइने रुनीको कप्तानीमा उत्रने टिमलाई निकै महत्वका साथ उभ्याइएको छ ।
लिग अघिका खेलमा पनि म्यानयुले आकर्षक प्रदर्शन गरेको छ । ओल्ड ट्राफोर्डकै आफ्नो मैदानमा शानदार सुरुआत गर्दै लिग जित्ने दाबी रुनीको छ ।
भान गालले पनि रुनीको कप्तानीप्रति पूर्ण आशावादी रहेको बताएका छन् । गत सिजन भने म्यानयुले बिर्सनयोग्य प्रदर्शन गरेको थियो ।
आज पहिलो दिन सात खेल हुँदा बेलुकी पौने ८ बजे लिसेस्टर सिटीले आफ्नै मैदानमा एभर्टनको, क्विन्स पार्क रेन्जर्सले हल सिटीको, स्टोक सिटीले एस्टनभिल्लाको, वेष्टब्रोमविच आल्बियनले सन्डरल्याण्डको तथा वेष्टह्याम युनाइटेडले टोटनह्याम हट्सपरको सामना गर्दैछ ।
राति सवा १० बजे आर्सनलको भिडन्त क्रिष्टल प्यालेससँग हुनेछ ।
सन् १८८८ देखि इंग्लिस फुटबलको प्रतिस्पर्धा सुरु भए पनि प्रिमियर लिग भने सन् १९९२ देखिमात्र भएको हो । हालसम्म पाँच टिमले मात्र उपाधि उचाल्दा म्यानचेष्टर युनाइटेडले सर्वाधिक १३ पटक जितेको छ ।
त्यसैगरी, चेल्सी र आर्सनलले समान ३–३ पटक उपाधि जित्दा म्यानचेष्टर सिटीले दुई तथा ब्ल्याकबर्न रोभर्सले एक पटक उपाधि उचालेको छ ।
हालसम्म ४६ क्लबले लिग खेलेकामा ७ टिमले मात्र अहिलेसम्मका सबै लिगमा खेल्न पाएका छन् । आर्सनल, एस्टनभिल्ला, चेल्सी, एभर्टन, लिभरपुल, म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्सपर सबै संस्करण खेल्ने भाग्यमानी टिमहरु हुन् । पूरै संस्करण खेले पनि लिभरपुल, एभर्टन, एस्टनभिल्ला र टोटनह्यामले भने उपाधि चुम्न पाएका छैनन् । -
0 comments:
Post a Comment