भदौ ४ – इबोला भाइरसको संक्रमण रोक्ने उद्देश्यले अफ्रिकी मुलूक लाइबेरियाको राजधानी मोन्रोभियामा रातीको समयमा कर्फ्यूको घोषणा गरिएको छ ।
लाइबेरियामा गएको महिना राष्ट्रिय संकटकाल घोषणा गरिसकिएको छ । राष्ट्रपति एलेन जोन्सन सरलिफले बुधबारदेखि स्थानीय समय अनुसार हरेक राती ९ बजेदेखि बिहान ६ सम्म कफ्र्यु लगाइने जानकारी दिनुभएको हो । उहाँले रातीमा सञ्चालन हुने सबै मनोरञ्जनात्मक व्यवसाय बन्द हुने तथा राजधानी आसपासका दुईवटा क्षेत्रमा विशेष जाँच हुने बताउनुभयो ।
सरकारले राजधानी मोन्रोभिया नजिकको इबोला प्रभावित वेष्ट प्वाइन्ट सुकुम्बासी बस्तीबाट कसैलाई पनि आवतजावत गर्न नदिन सुरक्षाफौज परिचालन गर्ने भएको छ । वेष्ट प्वाइन्टमा गएको शनिबार इबोला निगरानी केन्द्रमा आक्रमण हुँदा १७ जना बिरामी भागेका थिए ।
ती सबै सम्पर्कमा आइसकेको त्यहाँको सूचना मन्त्रालयले जनाएको छ । यसैबीच सूचनामन्त्री लेविस ब्राउनले इबोला विरुद्धको प्रयोगात्मक औषधी सेवन गरेका तीन जना चिकित्सकमा सुधारको संकेत देखिएको बताउनुभएको छ ।
नाइजेरियाका १ र लाइबेरियाका दुई जना गरी तीन जना इबोला संक्रमित डाक्टरहरुलाई औषधी खुवाइएको थियो ।
0 comments:
Post a Comment