काठमाडौं, भदौ १ - ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको आयोजनामा भएको दोश्रो टान –द नर्थ फेस अन्तराष्ट्रिय ईको च्यालेन्ज २०१४ मा नेपाल आर्मीले पहिलो, दोश्रो र तेश्रो तीनै स्थान हासिल गरेको छ । दौड, साईक्लिङ्ग र र्याफिटङ्ग तीन खेललाई संयुक्त रुपमा सम्पन्न गर्नु पर्ने यस खेलमा त्रिभुवन आर्मी क्लब “ए” निर्धारित दुरी २ घण्टा ३७ मिनेट २५ सेकेण्डमा तय गरी प्रथम स्थान हासिल गरेको हो ।
त्यसैगरी त्रिभुवन आर्मी क्लब “बी” ले निर्धारित दुरी २ घण्टा ४० मिनेट १०.३६ सेकेण्डमा तय गरी दोश्रो स्थान हासिल गरेको भने तृतिय हुने त्रिभुवन आर्मी क्लब “सी” ले निर्धारित दुरी २ घण्टा ४६ मिनेट ३६.९४ सेकेण्डमा तय गरी तेश्रो स्थान हासिल गरेको छ । प्रथम, दोश्रो र तेश्रोे हुने समूहले मेडल र प्रमाणपत्रका साथ क्रमशः नगद रु.१ लाख २५ हजार रुपैयाँ, ९५ हजार रुपैयाँ र ६५ हजार रुपैयाँ हासिल गरेका छन् । अघिल्लो वर्ष झै प्रत्येक प्रतियोगी टिममा चार जना खेलाडी र एक टिम व्यवस्थापक रहेका थिए ।
यस पटक खेलमा जम्मा १७ टिम सहभागी भएका थिए भने एउटै मात्र महिला टिमले सहभागिता जनाएकोे थियो । खेलमा प्रतियोगिहरुले टोखादेखि पानी मुहानसम्मको ६.५ कि.मी. दूरीको दौड, शिवपुरी–राष्ट्रिय निकुञ्ज अन्तरगतको पानी मुहानदेखि सुन्दरीजल सम्मकोे १४.५ कि.मी.दूरी साईक्लिङ्ग र अन्तमा सुन्दरीजल देखि गोकर्ण सम्मको ७.५ कि.मी. दूरी र्याफ्टिङ्ग गरेका थिए । विजेता खेलाडीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले पुरस्कार रकम, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
यसैगरी, टानका अध्यक्ष रमेश धमलाले कार्यक्रमे आफ्नो मन्तव्य राख्ने क्रममा ईको च्यालेन्जलार्ई संघको बार्षिक कार्यक्रको रुपमा आयोजना गरिने जानकारी गराउनुभयो । टोखामा विहान भव्य सांस्कृतिक झांकी सहित पूर्व पर्यटन मन्त्री हिसिला यमी र टानका अध्यक्ष रमेश धमलाले संयुक्त रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।
उद्घाटन समारोहमा बोल्दै टानको खेलकुद तथा समारोह विभागका संयोजक तथा टान कार्यसमिति सदस्य रञ्जन राजभण्डारीले नेपालको संस्कृति, वातावरण र साहसिक क्षेत्रलाई पर्यटन मार्फत प्रवद्र्धन गर्न ईको च्यालेन्जको आयोजना गरिएको वताउनुभयो । टानका प्रथम उपाध्यक्ष कामी रिन्जी शेर्पाले संघले यस्तै प्रकृतिका कार्यक्रमहरु भविष्यमा पनि आयोजना गर्दै जाने वताउनुभयो ।
0 comments:
Post a Comment