काठमाडौं, भाद्र ५ । हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले हरेक पर्ष आयोजना गर्दै आएको हस्तकला व्यापार मेलाको अर्को संस्करण आगामी मंसिर पहिलो साता हुने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकाशी प्रर्वद्धन केन्द्र, लघु उद्यम विकाश कार्यक्रम, ‘फेडेक्स’ र सिभिल बैंकको सहयोगमा महासंघले १२औं हस्तकला व्यापार मेला तथा दशौं प्रतियोगितात्मक हस्तकला प्रर्दशनी गर्न लागेको हो ।
मेला मंसिर ४ देखि ८ गतेसम्म भृकृटीमण्डप, काठमाडौंमा हुन लागेको विहीबार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेपालको निर्यात व्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ ।
हस्तकलाको आन्तरिक बजारमा करिब ८ अरब बराबरको खपत रहेको तथ्यांक छ । अमेरिका, युरोपियन मुलुकहरु, चीन, भारत लगायतका मुलुकहरुमा २५ भन्दा बढी विभिन्न थरीका वस्तुहरुको ५ अर्बभन्दा बढीको निर्यात रहेको महासंघले जनाएको छ ।
हस्तकला क्षेत्रमा झन्डै ११ लाख व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको महासंघको दाबी छ । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान ऊनी तथा सुती एवं ढाकाका सामान पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान लगायतका वस्तुहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिने जनाइएको छ ।
मेलामा ४५ बढी जिल्लाका स्थानीय उत्पादन राखिने बताइएको छ । मेलामा नेपाल बाहेक भारत, भुटान, बंगलादेश, पाकिस्तान र ओमानबाट समेत सहभागिता रहने अपेक्षा महासंघको छ । प्रर्दशनीमा २०० बढी स्टल रहने जनाइएको छ ।
0 comments:
Post a Comment