Adz

Adz
  • Latest News

    Sunday, October 19, 2014

    कास्की पटाका निषेधित क्षेत्र घोषित, राति सात बजेपछि देउसी भैलो खेल्न रोक

    पोखरा, ३१ असोज।तिहार नजिकिँदै गर्दा कास्की जिल्लालाई पटाका निषेधित क्षेत्र घोषणा गरिएको छ।  

    टोल विकास संस्था पोखरा नगर समन्वय समिति, सामुदायिक सेवा एवं प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहयोगमा नागरिक समाज पोखराले त्यस्तो घोषणा गरेको हो।  

    ‘नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकारका लागि कास्की जिल्लालाई पटाका निषेधित क्षेत्र घोषणा गरेका हौं’-नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलले भने-‘पटाकाले कोलाहल मच्चाउने र मानिसको अङ्गभङ्गसँगै मृत्यु पनि निम्त्याउन सक्ने भएकाले पटाकादेखि टाढै रहनुपर्छ।’
      
    कास्कीलाई पटाका निषेधित क्षेत्र घोषणा गरिएका कारण यहाँ पटाका र भुइँचम्पाको खरिद बिक्री गर्न तथा पड्काउन र आतसबाजी समेत गर्न नपाइने भएको छ।  नागरिक समाजले २०६७ सालदेखि प्रत्यक वर्ष कास्कीलाई पटाका निषेधित क्षेत्र घोषणा गर्दै आइरहेको छ।  

    दसैँको सुरुवातसँगै पड्काको आवाजले कोलाहल हुने गरेको कास्की जिल्लालाई पटाका निषेधित घोषणा गरिएपछिका वर्षहरूमा भने पटाका पड्किएको आवाज कम सुन्न थालिएको छ।  पोखराको मुख्य बजार पृथ्वीचोकमा शुक्रबार आयोजित कार्यक्रमबीच कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कास्कीलाई पटाका निषेधित क्षेत्र भनी घोषणा गरेका थिए। उनले पटाका कानुनद्वारा आयात, पैठारी, बिक्री र पड्काउन निषेध गरिएको सामग्री भएको बताए।  

    ‘पटाका कानुन निषेधित सामग्री हो’-उनले भने-‘तर पनि पूर्णरूपमा निषेध गर्न नसक्नु दुखद् कुरा हो।’ उनले विदेशबाट आयात गरिएको पटकामा करोडौ रुपैयाँ खर्च हुने गरेको भन्दै पटकामा गरिएको खर्च आर्थिक र सामाजिक क्षति भएको उल्लेख गरे।  उनले तिहारको समयमा परम्परागत संस्कृतिको जगेर्ना गरी देउसी भैलो खेल्नुपर्नेमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरे। 

    निमित्त प्रमुख जिल्ला अधिकारी गौतमले यसपटक तिहारको समयमा राति सात बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको जानकारी दिए।  रातको समयमा आपराधिक समूहले अवाञ्छित गतिविधि गर्न सक्नेभन्दै राति अबेरसम्म देउसी भैलो खेल्न रोक लगाइएको उनको भनाइ थियो। पछिल्लो समय पोखरामा मध्यरातसम्म देउसी भैलो खेल्ने चलन विकृतिका रूपमा बढ्दै गइरहेको छ।  

    उनले चार्डपर्वको समयमा समाजमा बढ्दै गइरहेको विकृति रोक्न नागरिक समाजले भूमिका खेलेकोभन्दै प्रशंसा पनि गरे। टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष उत्तम जोशीले पटाकाले जुनसुकै बेला पनि जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले त्यसलाई निषेध गरिएको बताए। 

    उनले तिहारको समयमा कुनै पनि विस्फोटक पदार्थ नपड्काउन सबैलाई आग्रह गरे।  कार्यक्रमको सञ्चालन नागरिक समाज पोखराकी अर्थ संयोजक सावित्री शर्माले गरेकी थिइन्।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कास्की पटाका निषेधित क्षेत्र घोषित, राति सात बजेपछि देउसी भैलो खेल्न रोक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top